सर्लाहीमा पानी पिउन धारामा जाँदा करेन्ट लागेर पुजारीको मृत्यु

बलरा : सर्लाहीमा करेन्ट लागेर एक वृद्ध पुजारीको मृत्यु भएको छ ।

मंगलबार पौने ३ बजेतिर जिल्लाको बलरा नगरपालिका–५ महतो टोलमा गोडैता गाउँपालिका–२ निवासी अन्दाजी ७० वर्षीय महादेव महतो (पुजारी) को मृत्यु भएको हो ।

सोही टोलमा रहेको विजय महतोको घरमा उनी पूजा गर्न गएका थिए । पूजा सम्पन्न गरी पानी पिउने क्रममा मोटर जडान गरिएको धाराबाट पानी लिँदा अचानक उनलाई करेन्ट लागेको थियो ।

घटनापछि उनलाई तत्कालै प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । चिकित्सकले उनलाई दिउँसो सवा ३ बजे मृत घोषणा गरेका थिए ।

शव हाल सोही अस्पतालमा राखिएको छ भने घटनाको जानकारी पाएपछि प्रहरी चौकी अर्नाहाबाट प्रहरी पुगेका थिए । घटनास्थल अर्नाहा प्रहरी चौकीबाट अन्दाजी २ किमी पश्चिममा पर्छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै