लालबन्दी : सर्लाहीको पर्सा गाउँपालिका–६ स्थित गाउँपालिका चोकमा लागूऔषधसहित दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० ७०७६ नम्बरको मोटरसाइकललाई शंका लागी रोकेर चेकजाँच गरेको थियो।
चेकजाँचको क्रममा मोटरसाइकल चालक सर्लाही ब्रहम्पुरी गाउँपालिका-६ बस्ने १९ वर्षीय रबि कुमार यादवको साथमा केही फेला नपरे पनि सोही मोटरसाइकलको पछाडि सवार २२ वर्षीय राहुल कुमार यादवको साथबाट ठूलो परिमाणमा लागूऔषध फेला परेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार, राहुलको पाइन्टको दाहिने गोजीबाट नाइट्राभेट ट्याबलेट ४१ पाता (१२३० पिस), स्पाईस ७ पाता (१६८ पिस) तथा सिनारेक्स १०० मिलिको १ बोतल बरामद गरिएको हो।
उक्त लागूऔषध, मोटरसाइकल तथा दुवै व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ। पक्राउ परेका दुवै व्यक्तिलाई सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमतिपछि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जानकारी दिएको छ।