सर्लाही । सर्लाही जिल्लाको विष्णु गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष जवाहरलाल यादवमाथि गाउँकै केही स्थानीयले कुटपिट गरेका छन् । विद्यालयमा दुई बालबालिकाबीच भएको सामान्य विवाद मिलाउन पुगेका वडाध्यक्षमाथि कुटपिट भएको हो ।
वडाध्यक्ष यादवले आफूलाई बाटोमै रोकेर केही युवाले आक्रमण गरेको दाबी गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् । ‘विद्यालयमा दुई बच्चाहरूको झगडा मिलाउन बोलाएका रहेछन्, तर विवाद उग्र बन्दै गएपछि वडाध्यक्षमाथि कुटपिट भएको रहेछ,’ एक प्रहरी कर्मचारीले सर्लाही न्युजसँग बताए ।
उक्त घटना श्री सामाजिक विद्यालय परिसरमा भएको हो । वडाध्यक्ष यादवले विवाद सुल्झाउने क्रममा केही स्थानीय व्यक्ति आक्रोशित भई आफूमाथि हातपात गरेको बताएका छन् । झगडा बढ्दै गएपछि प्रहरीलाई समेत घटनास्थलमा बोलाइएको थियो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका एक प्रहरीकर्मीका अनुसार वडाध्यक्ष यादवलाई खासै चोटपटक नलागेको र उनको अवस्था सामान्य रहेको छ । यादवले दिएको निवेदनका आधारमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार घटनास्थलमै गएर मिलापत्र गराउने तयारी भइरहेको छ ।
घटनाबारे थप बुझ्न वडाध्यक्ष यादवसँग सम्पर्क प्रयास गर्दा उपलब्ध हुन सकेन । उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट निर्वाचित वडाध्यक्ष हुन्।