लालबन्दी । सर्लाहीको पर्सा गाउँपालिका–५ स्थित पिपरा–पर्सा सडकखण्डमा प्रहरीले १० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
शनिबार राति अन्दाजी ८ बजे जिल्ला प्रहरी चौकी पर्सा र अस्थायी प्रहरी पोस्ट नोकेल्वा पिपराबाट खटिएको संयुक्त गस्ती टोलीले प्रदेश २–०२–००३ प ५३९४ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध बरामद गरिएको हो ।
लालबन्दीतर्फबाट पर्सातर्फ आउँदै गरेको मोटरसाइकलमा सवार सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरका १८ वर्षीय गब्बर वाइबा र सोही स्थानका १९ वर्षीय दिपेश वाइबाको बीचमा लुकाईछिपाई ल्याइएको अवस्थामा १० किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले गाँजा, मोटरसाइकल र दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि सर्लाही जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिसकेको जानकारी दिएको छ।
प्रहरीका अनुसार लागुऔषध ओसारपसारमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्ने र लागुऔषध नियन्त्रणलाई थप कडाइ गर्ने अभियानअन्तर्गत यो कारवाही गरिएको हो।