ईश्वरपुर : सर्लाहीको ईश्वरपुर नगरपालिका–५, चिरान टोलमा एक व्यक्तिको भैँसीगोठमा आगलागी भएको छ ।
स्थानीय नईम खाँ पठानको भैँसी गोठमा बालिएको घुरबाट अचानक आगो फैलिँदा गोठ पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान साढे ४ बजे फैलिएको आगलागीबाट गोठमा राखिएको भैँसीलाई खुवाउने ब्रान, भाडाकुँडा, भिस र टिकको काठ जलेर नष्ट भएका छन् ।
यस्तै, गोठमा रहेका एक भैसी र एक पाडी समेत जलेर घाइते भएका छन् । प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब २ लाख २४ हजार रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दाहरूले करिब ५ बजे आगो नियन्त्रणमा लिएका थिए । आगलागीको खबर बिहान ६ बजे प्रहरी चौकी फुलजोरमा प्राप्त भएपछि प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
घटनास्थल प्रहरी चौकी फुलजोरबाट करिब ४ किलोमिटर दक्षिणतर्फ पर्छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।