रौतहट : रौतहटको कटहरिया नगरपालिका–१ भसेरवामा नवविवाहित महिला आफ्नै घरभित्र मृत फेला परेकी छन्। इलाका प्रहरी कार्यालय कटहरियाका अनुसार मंगलबार साँझ विजयपुर नगरपालिका–९, बडहरवाकी आल्का यादव मृत भेटिएकी हुन्।
स्व.रामनारायण यादवकी छोरी आल्काको विवाह २६ वर्षीय अंकेश यादवसँग हालै भएको थियो। आल्का विवाहपछि श्रीमानको घरमा बस्दै आएकी थिइन्।
आल्काका श्रीमान् अंकेश फरार छन् भने ससुरा पुकार राय यादवलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कटहरियाका वरिष्ठ सई बिनोध राना मगरले जानकारी दिए।
मंगलवार बेलुकी करिब ७ बजेको समयमा उनीमाथि कुटपिट गरी हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। माइती पक्षले घटनामा घरकै सदस्यको संलग्नता रहेको आरोप लगाएका छन्।
शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ।