लालबन्दी : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित मंगलपुरमा ट्रक र विद्युतीय (इभी) गाडी एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
सर्लाहीको बरहथवाबाट चन्द्रपुरतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको सोकोन ब्रान्डको इभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००१ ख ८६०० नम्बरको ट्रक आपसमा ठोक्किँदा सर्लाही रामनगर गाउँपालिका–१ खैरवाकी ३६ वर्षीया भगिया देवी र ३० वर्षीय धिरेन्द्र ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।
दुर्घटनामा सोही ठाउँकी १८ वर्षीया रानीकुमारी यादव र रौतहट दुर्गाभगवती गाउँपालिका–५ बडहर्वाका १९ वर्षीय सरोज ठाकुर घाइते भएका छन्। उनीहरूको चन्द्रपुर अस्पताल प्रा.लि.मा उपचार भइरहेको छ। दुबै जनाको अवस्था खतरामुक्त रहेका छ्न्।
घटनापछि ट्रक चालक हेटौंडा उपमहानगरपालिका–१३ का ग्यालसेन थोकर र इभी गाडी चालक सर्लाही रामनगर–३ का आकाश सिंहलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छ्न्।