लालबन्दी : सर्लाहीको हरिपुर्वा नगरपालिका–६, बसतपुर भित्री सडकखण्डमा ठूलो परिमाणमा लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार दिउँसो करिब १ः४० बजेको समयमा हरिपुर्वा प्रहरी चौकीबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको गस्ती टोलीले बसतपुरबाट हरिपुर्वातर्फ जाँदै गरेको ज. ६ प. २३६ नम्बरको मोटरसाइकललाई शंका लागि रोकेर जाँच गर्दा सवार व्यक्तिहरूसँग १० किलो ५ सय ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
गाँजा जेब्रा झोलामा लुकाएर राखिएको अवस्थामा फेला परेको हो। पक्राउ परेकामध्ये मोटरसाइकल चालक सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, श्रीनगर निवासी ३७ वर्षीय मनोज कुमार महतो र पछाडि सवार अन्दाजी १८ वर्षीय राजेश मलिक रहेको सर्लाही प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई लागुऔषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धानका लागि सर्लाही जिल्ला अदालतबाट तीन दिनको म्याद थप लिइएको र अनुसन्धान जारी रहेको सर्लाही प्रहरीले जानकारी दिएको छ।