स्रोत नखुलेको १३ लाखसहित सिमराबाट युवक पक्राउ

सिमरा : स्रोत नखुलेको १३ लाख रुपैयाँभन्दा बढी नगदसहित प्रहरीले वीरगञ्जका एक युवकलाई सिमराबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का २० वर्षीय सुरज कुशवाहा रहेका छन्।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशी नेतृत्वको टोलीले उनलाई शुक्रबार एयरपोर्ट रोडबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार, कुशवाहाले बोकेको झोला खानतलासी गर्दा १३ लाख ७ हजार ५०० रुपैयाँ फेला परेको थियो।

बरामद रकममा एक हजार दरका १,०६७ थान, पाँच सय दरका ४८० थान र एक सय दरका ५ थान नोट रहेका छन्। साथै, उनको झोलाबाट विभिन्न कम्पनीका बिल, भौचर, अन्य कागजातहरू र ‘सागर मनी ट्रान्सफर, वीरगञ्ज’ लेखिएको स्ट्याम्पसमेत बरामद भएको छ।

कुशवाहाले उक्त रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले यो हुण्डी कारोबारको रकम हुन सक्ने आशंका गरेको छ। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै