बर्दिबास : विगत केही समयदेखि महोत्तरीको बर्दिबास बजारमा शृंखलाबद्ध रूपमा भइरहेको मोटरसाइकल चोरीको घटनामा संलग्न एक संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बर्दिबासले विशेष अपरेसन चलाएर गिरोहका मुख्य योजनाकारसहित चार जनालाई पक्राउ गरी उनीहरूको साथबाट चोरीका चार थान मोटरसाइकल र चोरीमा प्रयोग हुने ‘मास्टर की’ समेत बरामद गरेको हो।
घटनाको पृष्ठभूमि
बर्दिबास बजार तथा आसपासका क्षेत्रमा अस्पतालको पार्किङदेखि प्रहरी नायब निरीक्षककै घर अगाडिबाट मोटरसाइकल चोरी भएपछि स्थानीय त्रसित बनेका थिए । जेठ महिनामा मात्रै बर्दिबासको सिटि केयर हस्पिटल, हमाल टोल र पर्शुराम महतोको सेलर मिल अगाडिबाट पल्सर मोटरसाइकलहरू चोरी भएका थिए । लगातारका चोरीका घटनाले प्रहरीलाई समेत चुनौती थपिएको थियो ।
प्रहरीको सफल अनुसन्धान
शृंखलाबद्ध चोरीका घटना बढेपछि इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विकास बमको नेतृत्वमा विशेष अनुसन्धान टोली परिचालन गरिएको थियो। प्रहरीले सादा पोसाकमा प्रहरी परिचालन, सडक र पसलमा जडान गरिएका सीसीटीभी फुटेजको विश्लेषण, पुराना चोरहरूको निगरानी तथा मेकानिकहरूसँगको समन्वयजस्ता विभिन्न विधि अपनाएर अनुसन्धानलाई तीव्रता दिएको थियो ।
अनुसन्धानकै क्रममा मिति २०८२ असार १ गते चोरीको एक मोटरसाइकल बिक्रीका लागि ग्राहक खोजिँदै गरेको विशेष सूचनाका आधारमा प्रहरी टोलीले कारबाही अगाडि बढाएको थियो। प्रहरीले चोरीको मोटरसाइकल खरिद-बिक्री गराउने तेस्रो तहका व्यक्तिदेखि चोर्ने मुख्य योजनाकारसम्मको सञ्जाल तोड्न सफल भएको हो।
यी हुन् पक्राउ पर्नेहरू
प्रहरीले गिरोहका मुख्य योजनाकारसहित चार जनालाई सर्लाही र रौतहटका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पासाङ तितुङ (मुख्य योजनाकार) वर्ष २६, मकवानपुर बागमती गाउँपालिका ७ निवासी उनलाई रौतहटको चन्द्रनिगाहपुरस्थित डेराबाट पक्राउ गरिएको हो।
सुरेश घिसिङ (चोरीमा संलग्न) वर्ष २२, सर्लाही बागमती नगरपालिका-४ निवासी उनलाई आफ्नै घरबाट पक्राउ गरिएको हो।
पदम थिङ (बिचौलिया र बिक्रीको जिम्मा लिने) वर्ष २१, सर्लाही बागमती नगरपालिकापा-४ निवासी
दिल बहादुर सिङदोङ (बिक्री गराउने) वर्ष ३२, सर्लाही हरिवन नगरपालिका- १० निवासी उनलाई हरिवनबाट पक्राउ गरिएको हो।
प्रहरी नायब उपरीक्षक बमका अनुसार यो गिरोहले बर्दिबासलाई केन्द्र बनाएर लामो समयदेखि चोरी गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले भने, ‘हामीले उनीहरूको पूरा सञ्जालबारे थप अनुसन्धान गरिरहेका छौं।’
पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय बर्दिबासमा राखी चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।