लालबन्दीमा टिपरको ठक्करबाट साइकलयात्री गम्भीर घाइते, टिपरमा आगजनी

लालबन्दी : सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–५, मेजरगञ्जस्थित भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा एक साइकल यात्री गम्भीर घाइते भएका छन्।

मङ्गलवार साँझ जब्दीबाट लालबन्दीतर्फ गइरहेको ना २ ख ५०१ नम्बरको टिपरले साइकल यात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

प्राप्त जानकारीअनुसार ठक्करबाट घाइते भएका व्यक्ति सर्लाहीको कबिलासी नगरपालिका–८ अगर्वा निवासी दिनेश साहका छोरा २० वर्षीय सचिन साह हुन्। गम्भीर घाइते अवस्थामा रहेका साहलाई तत्कालै प्रादेशिक अस्पताल मलंगवा सर्लाहीतर्फ रिफर गरिएको प्रहरीले जनाएको छ। अहिले उनको अवस्था गम्भीर रहेको छ।

दुर्घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक बीरेन्द्र सिंह जोहारीको नेतृत्वमा १३ जना, केशरगञ्जबाट प्रहरी निरीक्षकको नेतृत्वमा १० जना, र हरिपुरबाट प्रहरी सईको नेतृत्वमा ६ जना प्रहरी खटिएका थिए। कुल २९ जना सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ।

दुर्घटनापछि टिपर चालक फरार रहेका छन् भने घटनास्थलमै रहेका टिपरलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा स्थानीयवासी आक्रोशित बनेका थिए। करिब ३००–४०० जनाको भीड घटनास्थलमा भेला भई विवाद गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरी टोलीलाई कठिनाइ भएको थियो।

तर, साँझ ८:५० बजेतिर आक्रोशित भीडले घटनामा संलग्न टिपरमा आगजनी गरेका थिए। आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। स्थिति थप तनावग्रस्त हुन नदिन सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा थप ९ जनाको टोली पनि खटिएको छ।

दुर्घटनास्थल इलाका प्रहरी कार्यालय लालबन्दीबाट करिब ३ किलोमिटर पश्चिमदक्षिणतर्फ पर्ने बताइएको छ। घटनापछि स्थानीय स्तरमा तनाव सिर्जना भएको छ भने सुरक्षाकर्मीहरू हाल स्थिति नियन्त्रणमा लिन प्रयासरत छन्।

फरार चालकको खोजी कार्य तीव्र पारिएको छ।

सम्बन्धित समाचार

सबै