ईश्वरपुर : सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ मा एक वृद्ध पुरुष मृत अवस्थामा फेला परेका छन्। महोत्तरीको सीमामा पर्ने बाँके खोलानजिकै घारीबथान क्षेत्रमा ६० वर्षीय बद्री भुजेलको शव फेला परेको हो।
मृतक भुजेल महोत्तरीको बर्दिबास नगरपालिका–१०, खयरमारा निवासी हुन्। स्थानीयका अनुसार उनी परिवारविहीन थिए श्रीमती र छोराछोरी कोही थिएनन्। उनी अक्सर गाउँघरमा डुल्दै हिँड्ने गर्थे।
इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासका प्रहरी निरीक्षक उमाकान्त जोशीका अनुसार भुजेललाई हिजो साँझ घारीबथानतर्फ जाँदै गरेको अवस्थामा गाईवस्तु चराउन गएका स्थानीयले देखेका थिए। आज दिउँसो उही स्थानमा गाईवस्तु चराउन गएका व्यक्तिहरूले उहाँलाई मृत अवस्थामा भेटेको जानकारी प्रहरीले दिएको छ।
“हिँड्दाहिँड्दै थकाइ मार्न बस्दा मृत्यु भएको अनुमान गरिएको छ,” प्रहरी निरीक्षक जोशीले भने।
घटनास्थलमा स्थानीय बासिन्दा र जनप्रतिनिधिको रोहबरमा मुचुल्का तयार गरिएको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको अस्थायी प्रहरी पोष्ट कालिन्जोर, घारीबथानले जानकारी दिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।