कविलासी : सर्लाहीको कविलासी नगरपालिका–५, घरदौली टोलमा शनिबार साँझ एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ ।
स्थानीय देव नारायण पासवानका दुई वर्षीय छोरा सुरजको खेल्ने क्रममा घर नजिकैको पोखरीमा डुबेर ज्यान गएको हो ।
आइतबार साँझ करिब ७ बजेतिर खेल्दाखेल्दै हराएका बालकको परिवारजन र स्थानीयले खोजी गर्ने क्रममा राति ९ बजेर १० मिनेटमा घरभन्दा करिब १०० मिटर पश्चिममा रहेको बिन्देश्वर रायको पोखरीमा मृत अवस्थामा फेला पारेका थिए ।
घटनाको खबर पाएलगत्तै अस्थायी प्रहरी पोष्ट हेमपुर पचगछियाबाट प्रहरी हवल्दार हरेराम केसरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी निरीक्षक रोमन राज अर्यालको कमाण्डमा अर्को टोली पनि घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरेको थियो ।
प्रहरीले शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।