किसानको आन्दोलनअगाडि झुक्यो लालबन्दी नगरपालिका, तरकारीको निकासी कर हट्यो

लालबन्दी । लालबन्दी नगरपालिकाले तरकारीमा लगाएको निकासी कर फिर्ता लिएको छ । व्यापारीले तरकारी खरिद नगरेपछि आक्रोशित किसानहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेपछि नगरपालिका आफ्नो निर्णयबाट पछि हट्न बाध्य भएको हो ।

आइतबार बिहानैदेखि, व्यापारीले तरकारी नकिनेको भन्दै किसानहरूले लालबन्दी बजार क्षेत्रमा प्रदर्शन गरेका थिए । उनीहरूले बिक्रीका लागि ल्याएको टमाटर, बोडीलगायत तरकारी सडकमै तेर्स्याएर पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा ठप्प पारेका थिए । आफूले उत्पादन गरेको तरकारीले बजार नपाएपछि बाध्य भएर सडकमा उत्रिनुपरेको किसानहरूको भनाइ थियो ।

राजमार्ग अवरुद्ध हुँदा सयौँ सवारीसाधन र हजारौँ यात्रु राजमार्गमै अलपत्र परेका थिए । लामो दूरीका सवारीको लामले लालबन्दी बजार अस्तव्यस्त बनेको थियो भने यात्रुले दिनभर सास्ती खेप्नुपरेको थियो ।

किन भयो विवाद ?

लालबन्दी नगरपालिकाले साउन १ गतेदेखि तरकारी निकासी गर्दा कर लगाउने निर्णय गरेपछि थोक व्यापारीहरूले शनिबारदेखि तरकारी खरिद गर्न छाडेका थिए । कृषि उपज संकलन केन्द्रका अध्यक्ष प्रमोद थपलियाका अनुसार, करको विषयमा पहिले भएको सहमति कार्यान्वयन नभएकाले व्यापारीहरूले तरकारी किन्न नसकेको हो । व्यापारीले तरकारी नकिन्दा त्यसको प्रत्यक्ष मारमा किसानहरू परेका थिए ।

नगरपालिकाको निर्णय

किसानको चर्को आन्दोलन र चौतर्फी दबाबपछि लालबन्दी नगरपालिकाले आइतबार दिउँसो एक विज्ञप्ति जारी गर्दै कर हटाउने निर्णय गरेको छ । साउन २ गते बसेको नगर कार्यपालिकाको बैठकले नै ‘अर्को व्यवस्था नहुन्जेलका लागि’ कर स्थगन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । नगरपालिकाको यो निर्णयसँगै बजार तथा राजमार्ग सुचारु भएको छ ।

सर्लाहीको लालबन्दी तरकारी उत्पादनको मुख्य पकेट क्षेत्र मानिन्छ । यहाँ उत्पादित टमाटर, बोडी, परवललगायतका ताजा तरकारी काठमाडौँ, पोखरा, नारायणगढजस्ता प्रमुख सहरमा दैनिक लाखौँ रुपैयाँको निकासी हुने गर्दछ ।

सम्बन्धित समाचार

सबै