जनकपुरको होटलमा युवकको हत्या, एक युवती पक्राउ

महोत्तरी : नेपाल प्रहरीले महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्साका ३१ वर्षीय विमलेश यादवको हत्या आरोपमा एक युवतीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीले हत्यामा संलग्न युवतीको नाम र ठेगाना भने खुलाएको छैन । यादवको हत्याको कारण विवाहेत्तर सम्बन्ध रहेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले यादवको शनिवार राति जनकपुरको होटल एसपी एण्ड गेस्ट हाउसमा छुरा प्रहार गरी एक तलाबाट खसालेर हत्या भएको र हत्यामा उनकै महिला साथी संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएको जानकारी दिए ।

शनिबार राति ९ बजेर ५० मिनेटमा यादव एक युवतीसहित होटेलमा पसेको सिसिटिभी फुटेजमा देखिन्छ । त्यसको करिब ५ घण्टापछि आइतबार बिहान २ बजेर ५७ मिनेटमा यादव नग्न र रक्ताम्मे अवस्थामा होटलको पहिलो तलाबाट खसेको देखिन्छ ।

त्यसको पाँच मिनेटपछि युवती तल ओर्लेर दायाँबायाँ, तलमाथि हेर्दै खसेका युवकको छेउबाट भागेको दृश्य सिसिटिभी क्यामेरामा कैद रहेको बताए ।

आइतबार बिहान पौने ८ बजे प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा यादवको मृत्यु भएको थियो । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार सिसिटिभी फुटेजका आधारमा आरोपीमाथि नै अनुसन्धान केन्द्रित छ ।

सम्बन्धित समाचार

सबै