लालबन्दीमा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

लालबन्दी : सर्लाहीको लालबन्दीमा सोमबार राति ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । 

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका–१, लच्कामा भएको दुर्घटनामा मोटरसाइकल चालक हरिवन नगरपालिका–४, सासापुरका ३१ वर्षीय राम बहादुर स्याङ्तानको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार लालबन्दीबाट नवलपुरतर्फ आउँदै गरेको को १ ख ५९३८ नम्बरको खाली तेल ट्याङकरले विपरीत दिशाबाट जाँदै गरेको बा ८७ प १३७० नम्बरको मोटरसाइकल सोमबार राति करिब सवा ११ बजे ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका स्याङ्तानलाई तत्कालै लालबन्दीस्थित मोडेल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो । तर मंगलबार बिहान करिब १ बजे चिकित्सकले उनलाई मृत घोषित गरेका प्रहरीले जनाएको छ । 

प्रहरीले दुर्घटनालगत्तै ट्याङ्कर र चालक सुनसरीको रामधुनी नगरपालिका–९ बस्ने ३२ वर्षीय अरबिन्द महतोलाई नियन्त्रणमा लिएको छ । चालक महतोले मादक पदार्थ सेवन नगरेको र उनको साथमा लाइसेन्स तथा सवारी दर्ता किताबसमेत रहेको पाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

मृतक स्याङ्तानको शव पोस्टमार्टमपछि मंगलबार साँझ उनका बुवा जित बहादुर स्याङ्तानले बुझेका छन् । प्रहरीले दुवै सवारीसाधनलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार

सबै