सर्लाहीमा गुडिरहेको स्कुल बसबाट खसेर विद्यार्थीको मृत्यु

बरहथवा : सर्लाहीको बरहथवामा मंगलबार अपराह्न गुडिरहेको स्कुल बसको ढोकाबाट खसेर एक बालकको मृत्यु भएको छ ।

बरहथवा नगरपालिका-८ टाँडीस्थित भित्री सडक खण्डमा भएको उक्त दुर्घटनामा १३ वर्षीय फैजान शेखको ज्यान गएको हो । 

इलाका प्रहरी कार्यालय बरहथवाका अनुसार बरहथवाबाट टाँडीतर्फ जाँदै गरेको कायाकल्प एकेडेमीको ग.१ ख. ९५६८ नम्बरको बसको ढोकामा उभिरहेका वेला फैजान अचानक खसेका थिए । सर्लाहीको धनकौल गाउँपालिका-३ हरकठ्वा निवासी निसार शेखका छोरा फैजान सोही एकेडेमीमा कक्षा ३ मा अध्ययनरत थिए । 

दुर्घटनामा गम्भीर घाइते भएका फैजानलाई तत्कालै बरहथवास्थित संकटमोचन अस्पतालमा प्राथमिक उपचारका लागि लगिएको थियो । उनको अवस्था जटिल भएपछि थप उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा पठाइएको थियो । तर उपचारकै क्रममा चिकित्सकले साँझ सात बजे उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ । 

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी नायब उपरीक्षक निरन्जन भट्टराईको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले दुर्घटना गराउने बस र चालक बागमती नगरपालिका-१० निवासी २१ वर्षीय राज कुमार यादवलाई नियन्त्रणमा लिएको छ । 

चालक र बसलाई इलाका प्रहरी कार्यालय बरहथवामा राखी घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी भट्टराईले जानकारी दिए। घटनास्थल प्रहरी कार्यालयबाट करिब ६ किलोमिटर दक्षिणमा पर्छ ।

सम्बन्धित समाचार

सबै