सर्लाही शिक्षक हत्या अपडेट : गोली हान्नेहरूलाई खोज्दै प्रहरी

लालबन्दी : सर्लाहीको हरिपुर्वा नगरपालिका–६ मा शुक्रबार राति अज्ञात समूहले गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रबार राति अन्दाजी ८:२० बजेको समयमा महादेव यादवका ४० वर्षीय छोरा रामपुकार यादवलाई अपरिचित व्यक्तिहरूले गोली हानेका थिए ।

टाउकोमा गोली लागेर गम्भीर घाइते भएका यादवलाई तत्कालै उपचारका लागि महोत्तरीस्थित जानकी हेल्थ केयरमा लगिएको थियो ।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी हरिपुर्वाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ४ जना, इलाका प्रहरी कार्यालय केशरगंजबाट प्रहरी निरीक्षक उमाकान्त जोशीको कमाण्डमा ११ जनाको टोली घटनास्थलमा खटिएको थियो ।

थप अनुसन्धान तथा आक्रमणकारीको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काको कमाण्डमा २१ जनासहित जम्मा ३६ जनाको प्रहरी टोली परिचालन गरिएको छ ।

उपचारका क्रममा जानकी हेल्थ केयरमा राति ८:४० बजे चिकित्सकले यादवलाई मृत घोषणा गरेका थिए । उनको शव सोही अस्पतालमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र गोली प्रहारमा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको जनाएको छ ।

अहिलेसम्म घटनाको कारण र आक्रमणकारीको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। मृतक निजी विद्यालयका शिक्षक रहेको खुलेको छ ।

सम्बन्धित समाचार

सबै