लक्ष्मण र रुबिको अधुरो प्रेम कथा

रौतहट । रौतहटको माधोपुरका रुबि साह र लक्ष्मण पासवान एउटै गाउँका थिए। विद्यालय जीवनमै उनीहरूबीच प्रेम अंकुरित भयो। कक्षा १० मा पढ्ने उमेरमै दुबैजनाले घरपरिवारको अवज्ञा भागेर विवाह गरे‚ त्यो पनि अदालतमा दर्ता गरेर। यो प्रेमकथा सुखद होइन, शोकान्त भयो।

करिब १४ वर्षअघि लक्ष्मणले रुबिलाई घरबाट भगाएर भारत लगेका थिए। त्यतिवेला रुबिको उमेर मात्र १४ वर्ष थियो। परिवारले छोरी हराएको भन्दै लक्ष्मणसहित तीनजनाविरुद्ध अपहरणको मुद्दा चलायो।

प्रहरीले लक्ष्मणलाई अपहरण, शारीरिक बन्धक र मानव बेचबिखन मुद्दामा पक्राउ गरेर १७ दिनसम्म हिरासतमा राख्यो। रुबिलाई लक्ष्मणबाट छुटाएर परिवारले भारतको बिहारमै अर्को केटासँग विवाह गराइदियो। त्यसपछि लक्ष्मणले पनि अर्को विवाह गरे र वैदेशिक रोजगारीमा गए।

लामो अन्तरालपछि दुबै आ-आफ्नो बाटो लागेका भए पनि माया भने मरेन। केही दिन पहिला विदेशबाट फर्किएका लक्ष्मण गौरमा डेरा लिएर बस्न थाले। रुबि पनि आमासँग त्यही डेरामा बस्न थालिन्। बेला–बेला भेट हुने क्रम चलिरह्यो।

भदौ ७ गते साँझ रुबि लक्ष्मणकै डेरामा पुगिन्। दुबैजना बीच वादविवाद भयो। भावनाको चरम अवस्थामा दुबैजनाले ‘अब बाँच्दैनौँ, सँगै मर्छौँ’ भन्ने निर्णय गरे। पहिला को मर्ने भन्ने विषयमा विवाद बढ्दै गएपछि झगडा हिंस्रक बन्यो। आवेशमा आएका लक्ष्मणले रुबिको घाँटी थिचे। रुबिको मृत्यु भयो।

मृत्यु भएको थाहा पाहा पाएपछि लक्ष्मण छटपटाए। विदेशबाट ल्याएको ठूलो सुटकेसमा रुबिको शव राखे। एक डाँफे (ई–रिक्सा) बोलाएर शव बोकेर लैजाने प्रयास गरे तर बरहवा पुल नजिकै रिक्साको टायर पंक्चर भयो। रिक्सावालाले अर्को रिक्सा बोलाउँछु भने पनि लक्ष्मणले मानेनन्।

उनले मृत शरीर भएको सुटकेस मुस्किलले घिसार्दै लगे। भोलिपल्ट आइतबार बिहान, गौरमा सुटकेसभित्रै रुबिको शव फेला पर्‍यो। यो समाचार फैलिँदै जाँदा सामाजिक सञ्जाल ततायो।

प्रहरीले घटनास्थल अनुसन्धान गर्दा लक्ष्मणको कोठामा रुबिको चप्पल फेला पर्‍यो। त्यसपछि प्रहरी लक्ष्मणको खोजीमा लाग्यो।

यस्तैमा बुधबार बिहान माधवनारायण नगरपालिका–६ को धान खेतमा एकजना युवक जलिरहेको अवस्थामा स्थानीयले देखे। प्रहरी घटनास्थल पुग्दा ती आधा जलेका युवक लक्ष्मण नै रहेको खुल्यो।

गम्भीर घाइते अवस्थामा लक्ष्मणलाई गरुडा अस्पताल ल्याइयो। त्यहीबीच उनले आफै खिचेको करिब ९ मिनेट लामो भिडियो बाहिरियो।

भिडियोमा लक्ष्मणले रुबिकी आमालाई मुख्य दोषी ठहराएका थिए। उनका अनुसार रुबिलाई पैसाको लालचमा अरूसँग सम्बन्ध राख्न बाध्य पारिएको थियो। उनले रुबिका देवरले समेत दबाव दिएको र आफ्नी आमाले गाडी‚ सुनचाँदीको लोभमा जबरजस्ती अरूसँग सम्बन्ध बनाएको आरोप लगाएका थिए।

भिडियोमा लक्ष्मणले भनेका छन्, “हामी दुवै विवाहित थियौँ तर मनले एक अर्कालाई छाड्न सकेनौँ। म गरिब, दलित भएका कारण हाम्रो प्रेम कहिल्यै सफल भएन। रुबिबिना म एक्लै बाँच्न सक्दिनँ, चाँडै उसको साथमा पुग्छु।”

भिडियोकै अन्त्यमा उनले आँसु झार्दै आत्महत्या गर्ने संकेत गरेका थिए।

अस्पतालमा उपचाररत लक्ष्मणको फोटो बाहिरियो। उनको छातीमा एकातिर रुबि र अर्कोतिर आफ्नै तस्वीरको ट्याटु बनेको थियो। पाखुरामा ‘माई हर्ट रुबि’ लेखिएको थियो। सामाजिक सञ्जालमा उनी ‘पागल प्रेमी’ भनेर चर्चामा आए। उपचारकै क्रममा उनलाई काठमाडौँ पठाइए पनि जीवन बचेन।

रुबि साह र लक्ष्मण पासवानको प्रेमकथा सुरुवातमा विद्यालयको किशोर उमेरमा शुरु भएको प्रेम थियो।

तर समयसँगै परिवारको दबाव, जातीय विभेद, आर्थिक असमानता र समाजको दृष्टिले त्यो प्रेमलाई स्विकारेन। अन्ततः दुबैजनाको जीवन त्रासदीपूर्ण रूपमा टुंगियो।

सम्बन्धित समाचार

सबै