सिन्धुली : सिन्धुलीको मरिण गाउँपालिकाले स्नातक तह उत्तीर्ण गर्ने अविवाहित युवतीलाई एक लाख दिने भएको छ। गाउँपालिकाले प्रोत्साहनस्वरूप उक्त रकम उपलब्ध गराउने भएको हो।
यसका लागि सूचना प्रकाशन भएको मितिले १५ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिनुपर्ने छ। सूचना कात्तिक १३ गते प्रकाशित भएको छ।
गाउँपालिकाका अनुसार २० वर्ष उमेर पूरा भएका मरिण गाउँपालिका क्षेत्रभित्र सञ्चालित क्याम्पसमा अध्ययन गरी स्थायी रूपमा बसोबास गर्ने अविवाहित किशोरी तथा स्नातक तह उत्तीर्ण गरी विवाह गर्ने महिलालाई मात्रै यो प्रोत्साहन रकम दिइने छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दासले मरिण गाउँपालिकाको आव २०८२/८३ को वार्षिक बजेट तथा कार्यक्रममा व्यवस्था गरिएअनुसार रकम दिन लागिएको जानकारी दिए।
उनका अनुसार स्नातक तह उत्तीर्ण गरी विवाह गर्ने किशोरी तथा अविवाहित महिलालाई प्रोत्साहन रकम प्रदानसम्बन्धी कार्यविधि, २०७९ बमोजिम आवश्यक कागजातहरू संलग्न गरी मरिण गाउँपालिकाको कार्यालयमा आवेदन दिनुपर्ने छ।
आवेदनका साथ नागरिकताको प्रतिलिपि, स्नातक तह उत्तीर्ण गरेको चारित्रिक प्रमाण-पत्र (ट्रान्सक्रिप्टसमेत) र अविवाहित रहि गाउँपालिका क्षेत्रभित्र स्थायी रूपमा बसोवास गरिरहेको व्यहोरा जनाउने वडा कार्यालयको सिफारिस पत्र चाहिने छ।
किन दिइयो एक लाख रकम ?
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दासले अत्याधिक मात्रामा बालबिबाह बढेको र यसलाई रोकेर उच्च शिक्षा अध्ययनको अवसर सिर्जना गर्न यो नीति लिएको बताए।
कार्यविधिमा पनि भनिएको छ,‘यस गाउँपालिका क्षेत्रभित्र अत्याधिक मात्रामा हुने गरेको बालविवाह तथा त्यसबाट पर्ने दीर्घकालीन असरलाई न्यूनीकरण गर्दै जाने अचुक उपायको रूपमा किशोरी तथा अविवाहित महिलाहरूलाई उच्च शिक्षा अध्ययनको अवसर सिर्जना गर्नुपर्छ भन्ने गाउँपालिकाको ठम्याई रहेकाले वार्षिक नीति तथा कार्यक्रममा सो विषयलाई प्रवेश गराएको छ।’
गाउँपालिकाले उक्त उद्देश्यलाई पूरा गर्न गाउँपालिका क्षेत्रभित्र स्थायी बसोबास भई स्नातक तह उत्तीर्ण गरी विवाह गर्ने किशोरी तथा अविवाहित महिलालाई प्रोत्साहन स्वरूप नगद रकम उपलब्ध गराउन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ बमोजिम यो कार्यविधि जारी गरिएको जनाएको छ।