सप्तरीबाट स्रोत नखुलेको ठूलो परिमाणको रकमसहित दुई युवक पक्राउ

सप्तरी । सप्तरीबाट स्रोत नखुलेको ठूलो परिमाणको रकमसहित दुई जनालाई पक्राउ परेका छन।

पक्राउ पर्नेमा झापा दमक नगरपालिका-५ का २७ वर्षीय किरण सिटौला र सोही गाडीमा सवार १८ वर्षीय धिरज प्रसाई छन्।

सुरूङगा नगरपालिका-२ भेडिया नजिक गाईघाट-कदमाहा सडकखण्डमा प्रहरीले आइतबार राति चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट २३ लाख नगद सहित विभिन्न सामग्रीहरू बरामद भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले कदमाहाबाट गाईघाटतर्फ जाँदै गरेको बा।प्रदेश ०१-०२८ च ५००८ नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा गाडीभित्र उक्त रकमसहित दुई जना पक्राउ परेका थिए।

गाडीभित्रबाट टेकोन पम्प एक सय थान, टीएनइएच ब्याट्री ३४ थान, लिथियन ब्याट्री एक थान, ई-रिक्सा मोटर तीन थान, स्कुटर ब्याट्री चार्जर सात थान, ब्याट्री टेस्टर एक थान र एक थान सानो हर्न स्पिकर समेत फेला परेको प्रहरीले जनाएको छ।

स्रोत नखुलेको उक्त रकम र सामग्रीसहित पक्राउ परेका दुवै जनामाथि बैक तथा वित्तीय संस्था सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए।

सप्तरी जिल्ला अदालतबाट उनीहरूलाई थप अनुसन्धानका लागि तीन दिनको म्याद थप गरिएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सबै