वडाध्यक्षलाई मालिस गर्न लगाउने गाउँपालिका अध्यक्षको राजीनामा स्वीकृत

सप्तरी : सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले दिएको राजीनामा उपाध्यक्ष कल्पना चौधरीले स्वीकृत गरेकी छन् ।

गाउँपालिकाकी उपाध्यक्ष कल्पना चौधरीको कार्यकक्षमा रहेको सोफामा सुतेर वडाध्यक्षबाट खुट्टा मालिस गराएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अध्यक्ष चौधरी विवादमा परेका थिए ।

विवाद फैलिएसँगै उनले गत ५ असोजमा उपाध्यक्ष चौधरीलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका थिए ।सोही दिन गाउँ सभासमेत बसेको थियो ।

राजीनामा पत्रमा उनले पदमा रहेर निरन्तर काम गर्न नसक्ने अवस्था आएको उल्लेख गरेका छन् ।

‘म दिनानाथ चौधरी, अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको अध्यक्ष पदमा कार्यरत रही आएकोमा विभिन्न कारणवश सो पदमा निरन्तर कार्य गर्न असमर्थ भएको छु । पदमा आवश्यक दक्षता, समय र ऊर्जा दिन नसकेको महसुस भएकाले स्वेच्छाले नै राजीनामा दिएको छु’ उनले पत्रमा लेखेका छन् ।

उनले गाउँपालिका अध्यक्षको हैसियतले पाएको अनुभव जीवनको महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै भविष्यमा पनि समाज र गाउँको सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता जनाएका छन् ।

अध्यक्ष चौधरीको राजीनामा कार्यपालिका बैठकले स्वीकृत गरेको उपाध्यक्ष कल्पना चौधरीले जानकारी दिएकी छन् ।

सम्बन्धित समाचार

सबै