कविलासी । सर्लाहीको कविलासी नगरपालिका–६ मदनपुर बजार नजिकै बिहीबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार साँझ करिब सवा ६ बजे सल्लेमपुरबाट बरहथवातर्फ जाँदै गरेको ज १ त ६२०३ नम्बरको आलु प्याज लोड गरिएको ट्याक्टर र सोही दिशामा गइरहेको बा४७प ९८९२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक चन्द्रनगर गाउँपालिका–५ महोनपुर बस्ने ४२ वर्षीय सुरेन्द्र ठाकुर लोहारको प्रादेशिक अस्पताल मलंगवामा उपचारका क्रममा साँझ ७ बजेर ५५ मिनेट जाँदा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।
सोही मोटरसाइकलको पछाडि सवार बरहथवा नगरपालिका–७ बस्ने १९ वर्षीय राजु ठाकुर लोहार घाइते भएका छन् । उनको निधार, दाहिने हातको कुहिना र तिघ्रामा चोट लागेको र उनको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट हेम्पुर पचगछिया, इलाका प्रहरी कार्यालय हरिपुर, इलाका प्रहरी कार्यालय चक्रघट्टा र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएका प्रहरी टोलीले घाइतेहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो ।
दुर्घटनापश्चात् ट्याक्टर चालक फरार छन् । प्रहरीले ट्याक्टरलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सर्लाहीतर्फ ल्याएको छ भने मोटरसाइकल इलाका प्रहरी कार्यालय हरिपुरको नियन्त्रणमा छ ।
प्रहरीले फरार ट्याक्टर चालकको खोजी गर्नुका साथै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । दुर्घटनास्थल अस्थायी प्रहरी पोस्ट हेमपुर पचगछियाबाट करिब ५ किलोमिटर दक्षिणमा पर्छ ।