गौरको सिरक डसना पसलमा भीषण आगलागी, १० लाख क्षति भएको अनुमान

गौर । रौतहटको गौर नगरपालिका–५ हनुमान चोक नजिकै रहेको वीरेन्द्र चौरसियाद्वारा सञ्चालित एउटा सिरक–डसना पसलमा शनिबार दिउँसो भीषण आगलागी भएको छ ।

दिउँसो करिब अढाई बजेतिर भएको यस आगलागीमा पसलभित्रका सबै सामग्री जलेर नष्ट भएका छन् । 

प्रारम्भिक अनुसन्धानअनुसार करेन्ट सर्टका कारण जस्ताको छानो भएको कच्ची घरमा रहेको यस पसलमा आगो लागेको हो । जिल्ला प्रहरी प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले दिएको जानकारीअनुसार आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । 

आगलागीको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोली, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयवासीको सहयोगमा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको थियो । दिउँसो साढे ३ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । 

यस घटनामा कुनै मानवीय तथा चौपायाको क्षति नभए भए पनि पसलभित्र रहेका सम्पूर्ण सामग्रीहरू जलेर नष्ट भएका छन् । जसमध्ये १ थान मोटर, १ थान डस्ना बनाउने मेसिन, १२ बोरा कपास, १५ बोरा डस्ना कपडा, २ पोका रुई, २० पिस तन्ना, ३० पिस तकिया, २५ पिस तयारी सिरक, २ थान बेन्च, २ थान टेबल, १ थान टीभी, २ थान पंखा र १८ पिस टेन्ट कपडा समावेश छन् । 

स्थानीयले समयमै खबर गरी सहयोग गरेकाले आगो अन्य घरहरूमा फैलिन नपाएको प्रहरीले जनाएको छ । प्रहरीले विद्युत् सर्टका कारण आगो लागेको प्रारम्भिक जानकारी दिए पनि यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सम्बन्धित समाचार

सबै