रौतहट । रौतहटमा एक वडा सदस्यले तीन सन्तानकी आमालाई भगाएपछि बालबच्चा टुहुरा भएका छन्।
कटहरिया नगरपालिकाका एक वडा सदस्यले स्थानीय दलित विवाहित महिलालाई भगाएको घटनाले नैतिकताको कुरा उठेको हो।
कटहरिया–१ का नेपाली कांग्रेसबाट विजयी वडा सदस्य सतलाल दासले तीन छोराकी आमालाई ललाइफकाई भगाएको आरोप पीडित परिवारले लगाएको हो।
विदेशमा रहेका महिलाका श्रीमान्ले मलेसियाबाट पठाएको १२ लाख रुपैयाँ नगद, ३ लाख बराबरका गरगहना र झण्डै १५ लाख बराबरको सम्पत्ति लिएर दासले महिलालाई भगाएको पीडित पक्षको दाबी छ।
पाँच वर्षदेखि विदेशमा रहेको छोराले पठाएको सबै पैसा र गरगहना लिएर वडा सदस्यले बुहारीलाई भगाएको महिलाकी सासू घुनिया देवीले बताइन्।
निजगढको एक कोठामा लुकाएर राखेको अवस्थामा प्रमाणसहित भेट्यौँ,” उनले दुखेसो सुनाइन्। उनका अनुसार बुहारीको नाममा रहेको ५ कठ्ठा जग्गा बैंकमा धितो राखेर दासले पैसा निकालेका छन्।
बारा प्रहरीले पक्राउ गरी दुवैलाई जिल्ला प्रहरी कार्यालय गौर ल्याएर छलफल शुरु गरेको थियो। छलफलकै क्रममा कटहरिया नगरप्रमुख अजयप्रकाश जैसवालले उल्टै पीडित परिवारलाई ‘सम्पत्ति आधी–आधी गर्ने’ प्रस्ताव गरेको आरोप सासू घुनिया देवीले लगाइन्।
“दोषीलाई कारबाही गर्नु त परै जाओस्, मेयरले त उल्टै भागबण्डा गराएर अपराधी बचाउने खेलमा लागेको छ”‚ उनले भनिन्।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी विष्णुप्रदीप बस्यालले यसबारे जानकारी दिँदै लिएको रकम, गहना र बैंकबाट निकालिएको रकमसम्बन्धी सबै प्रमाणसहित उजुरी दर्ता गर्न निर्देशन दिएको बताए।
त्यसैबीच मेयर जैसवालले दासलाई जिम्माजमानतमा लिएर आफ्नो गाडीमै लगेको आरोप पीडित पक्षले लगाएको छ। प्रहरीका अनुसार प्रमाण पुष्टि भए दासले सम्पूर्ण रकम फिर्ता गर्नैपर्ने हुन्छ।
वडा–१ का अध्यक्ष भूपेन्द्र कुशवाहले घटनाबारे प्रतिक्रिया जनाउँदै भने, ‘तीन छोराकी आमा भगाएर दासले जघन्य अपराध गरेको हो। त्योभन्दा ठूलो अपराध मेयरले गरे।’ मेयर जयसवाल पार्टीको नाममा अपराधी जोगाउने खेल खेलिरहेको उनले आरोप समेत लगाइन्।
यो घटनाले कटहरिया नगरभित्र जनप्रतिनिधिको चरित्र तथा नैतिकतामाथि गम्भीर प्रश्न खडा गरेको छ। पीडित महिलाका तीनजना छोराहरू, बुढी सासू तथा परिवार अहिले बिचल्लीमा परेको छ।
“न्याय माग्दै गाउँनगर धायौँ, उल्टै अभियुक्तलाई मेयरले नै बचाएपछि हामी कहाँ जाऊँ?”‚ सासू घुनिया देवीले भनिन्।
मेयर जैसवालले आफूले दोषीलाई बचाएको आरोप अस्वीकार गर्दै छलफलमा मात्र सहभागी भएको दाबी गरे। उनले घटनालाई निष्पक्ष अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरिएको बताए।