पेस्तोल र एअरगनसहित सप्तरीबाट २ जना पक्राउ

जनकपुरधाम : सप्तरी प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरीकै सुरुङगा नगरपालिका-६ श्रीपुर बस्ने ४५ वर्षीय विशेश्वरप्रसाद साह र धादिङ रुवीभ्याली गाउँपालिका-५ बस्ने ४२ वर्षीय बिच्चबहादुर तामाङ रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानेका अनुसार प्रहरीले दुवै जनालाई ७.६५ एमएम लेखिएको पेस्तोल १ थान, खाली म्याग्जिन १ थान, केएफ ७.६५ लेखिएको राउण्ड गोली, गिफ्ट इन्डष्ट्रिज स्पोर्टस एयर गन कोलकाता लेखिएको एअरगन १ थान, मोबाइल, नेपाली र भारतीय सिमकार्डसहित पक्राउ गरेको हो।

गत शुक्रबार राति करिब पौने १० बजेको समयमा इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीबाट खटिएको प्रहरी टोलीले खडक नगरपालिका ८ भदियामा आकस्मीक चेक जाँच गर्ने क्रममा बोदेबर्साईनबाट बिसनपुरतर्फ आउँदै गरेको स६प ५९०८ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा हतियारसहित उनीहरूलाई पक्राउ गरिएको हो।

सप्तरी जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै