ईश्वरपुर । सर्लाहीको ईश्वरपुर नगरपालिका- २ राइटर खोरस्थित सगरमानाथ वन विकास परियोजनामा कार्यरत वनपालेको बिभत्स हत्या भएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रहरी निरीक्षक नीतेशकुमार सिंहको कमान्डमा खटिएको टोलीले घटनास्थलदेखि करिब १०० मिटर उत्तरतर्फ झाडीमा आइतबार टाउको फेला पारेको हो।
परियोजनामा ज्यालादारीमा कार्यरत वनपाले ४७ वर्षीय रामईश्वर महतोको शव शनिबार फेला परेको थियो। शरीर फेला परे पनि टाउको भेटिएको थिएन। प्रहरीले शनिबारदेखि महतोको हत्याको अनुसन्धानमा दुई वटा कुकुरसहित धनुषाको लालगढबाट प्रहरीको विषेश टोलीले अनुसन्धान जारी राखेको थियो ।
आज दिउँसो मात्रै महतोको टाउको घटनास्थलबाट एक सय मिटरको दूरीमा फेला परेको हो ।
शनिबार बिहानै वनमा रूख काटेको आवाज सुनेपछि महतो साइकलमा त्यसतर्फ लागेका थिए । उनी अबेरसम्म घर नफर्किएपछि आफन्तले खोजी सुरु गरेका थिए ।
प्रहरीले हत्याको आशङ्कामा एकजनालाई पक्राउ गरेको जनाएको छ । यद्यपि पक्राउ परेका व्यक्ति सार्वजनिक गरिएको छैन ।