ईश्वरपुर । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित सागरनाथ वन विकास परियोजनाका एक चौकीदारको बीभत्स हत्या भयो । शनिबार पुस १९ गते बिहान गस्तीमा गएका ५२ वर्षीय रामेश्वर महतो कोइरीको शव दिउँसो परियोजना क्षेत्रमै टाउको छिनाइएको र रक्ताम्य अवस्थामा प्रहरीले फेला पारेको थियो ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले सोही वडाका रामबलि महतोलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । प्रारम्भिक अनुसन्धानबाट अवैध काठ चोरी र चौकीदारले त्यसलाई रोक्ने प्रयास गर्दा भएको पुरानो रिसइवीका कारण हत्या भएको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सरोज राईले दिएको जानकारी अनुसार ईश्वरपुर नगरपालिका–२ राईटरखोर टोल घर भई सागरनाथ वन विकास परियोजनाको चौकीदारका रूपमा कार्यरत रामेश्वर महतो कोइरी पुस १९ गते बिहान करिब ५ बजे आफ्नो घरबाट साइकलमा एक्लै परियोजनाको प्लट नं. १० को जंगलमा गस्ती गर्न गएका थिए ।
परिवारका सदस्यहरूले पटक–पटक गर्दा लागे पनि कोइरीको फोन भने उठेन । केही समयपछि फोन स्वीच अफ भयो । त्यसपछि आत्तिँदै परिवारले खोजी गर्न थाले । खोजी गर्दै जाँदा दिउँसो करिब साढे २ बजे ईश्वरपुर नगरपालिका–२ राइटरखोरघाट टोलस्थित परियोजनाको प्लट नं. १० को जंगलमा कोइरीको शव भेटियो, वनमाराको झाडीमा कोइरीको मृत शरीर टाउको छिनाइएको र रक्ताम्य अवस्थामा फेला परेको थियो ।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय केशरगञ्जबाट प्रहरी टोली घटनास्थलमा खटियो । घटनास्थलनजिकै रगत लागेको बन्चरो र कालो रंगको एक जोर चप्पल फेला परेको प्रहरीले बताएको छ ।
स्थानीय व्यक्तिहरूले उक्त चप्पल र बन्चरो ईश्वरपुर नगरपालिका–२ राइटरखोर टोलकै रामबलि महतोको भएको खुलाए । रामबलि प्रायः जंगलमा काठ दाउरा काट्न जाँदा यही बन्चरो बोकेर जाने गरेका स्थानीयले बताएका छन् ।
यसैलाई आधार मानेर प्रहरी टोली तत्कालै रामबलिको घर पुग्यो, प्रहरीले उनलाई घरअगाडि नै भेट्टायो र तत्काल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले रामबलिको घर खानतलासी गर्यो । उनको सुत्ने कोठाभित्र झुण्ड्याइएको ज्याकेट र जिन्स पाइन्टमा रगतका छिटाहरू भेटिनुले प्रहरीको अनुसन्धान थप बलियो बन्यो । शंकास्पद अवस्थामा फेला परेका ती कपडाहरू प्रहरीले बरामद गरेको छ ।
काठ चोरी गर्दाको पुरानो रिसइबी नै हत्याको कारण
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेका रामबलि महतोले धेरै पटक जंगलमा प्रवेश गरी टिक र मसलाका रूखहरू चोरी गर्ने गर्थे । रामेश्वर महतो (मृतक) कोइरीले उनलाई धेरै पटक सम्झाई बुझाई यस्तो कार्य नगर्न रोक्ने प्रयास गरेका थिए । ‘एक पटक रामबलि काठ काट्दै गर्दा पक्राउ गर्न खोज्दा उनीहरूबिच जंगलभित्र लछारपछारसमेत भएको र रामबलि महतो भागेका रहेछन्,’ डीएसपी राई भन्छन् ।
घटना हुनुभन्दा ४/५ दिन अगाडि रामबलिले सागरनाथ वन विकास परियोजनाबाट चोरी गरी दाउरा चिरी बेच्न राखेको टिकको काठ र कोइरीले लगेका थिए । यसै विषयलाई लिएर रामबलिले कोइरीलाई ‘मार्छु, काट्छु’ समेत भनेका डीएसपी राई बताउँछन् । ‘धाकधम्की समेत दिएका प्रमाणहरू फेला परेका छन्,’ उनले बताए ।
घटनाको सूक्ष्म अनुसन्धान गर्न प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले प्रदेश प्रहरी कार्यालयबाट स्पेसल कुकुरसहितको टोली घटनास्थलमा पठाएका थिए ।
प्रहरीले रामबलिलाई जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुरमा ६ दिनको म्याद थपी इलाका प्रहरी कार्यालय केशरगञ्जमा थप अनुसन्धान गरिरहेको छ ।