वीरगन्जमा मोटरसाइकल पार्किङको विषयमा विवाद हुँदा एक जनाको मृत्यु

वीरगन्ज । पर्सामा मोटरसाइकल पार्किङको विषयलाई लिएर झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान वीरगन्ज महानगरपालिका–१३ मा मोटरसाइकल पार्किङको विषयलाई लिएर भएको विवाद पछिको झडपमा परेर स्थानीय केपीचन्द राउतको मृत्यु भएको हो ।

झडपमा परेर उनको मृत्यु भएको जिल्ला प्रहरी पर्साका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए । उनले भने, ‘मृतकले आफ्नो घर अगाडि मोटरसाइकल पार्किङ नगर भनेका थिए, त्यही विषयमा विवाद भयो । जुन विवादपछि भएको धकेलाधकेलमा परी गम्भीर घाइते भएका राउतको उपचारको क्रममा मृत्यु भएको हो ।’

प्रहरीका अनुसार उनको घर अगाडि वीरगन्ज महानगरपालिका– २३ प्रसौनी निवासी अर्जुन यादवले जबरजस्ती मोटरसाइकल पार्किङ गर्न खोजेका थिए । राउतको मृत्यु प्रकरणमा संलग्न अर्जुन यादवलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सो घटनाबारे अनुसन्धान सुरु गरिएको जनाएको छ ।

सम्बन्धित समाचार

सबै