जनकपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २४ भदौको जसरी अब कसैले पनि नकाब लगाएर सिंहदरबार जलाउन नपाउने दावी गरेका छन्।
बुधवार पार्टीले धनुषामा आयोजना गरेको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै सभापति थापाले यस्तो दावी गरेका हुन्।
उनले २३ भदौको जस्तो सुशासनको नारा लगाउँदैमा कुनै पनि नागरिकले राज्यको गोलीबाट मर्नुनपर्ने प्रतिज्ञासमेत गरे। उनले जेनजी विद्रोहको भावनालाई पार्टीले आत्मसाथ गरेको पनि बताए।
उनले मधेस प्रदेशलाई केन्द्रमा राखेर संघीयतासम्बन्धी देखिएका सबै समस्याहरूको हल गर्ने प्रतिज्ञासमेत गरे।
उनले मधेशकै छोराले पढाएका व्यक्तिहरू विगतमा शक्ति केन्द्रमा पुगेको भएपनि पछिल्लो समय शिक्षाको गुणस्तर कमजोर हुँदै गएको उल्लेख गर्दै त्यसको सुधारका लागि आफू मधेस झरेको जिकिर गरे।
उनले मधेशको शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार्न पार्टीलाई बहुमतका साथ विजयी गराउन अपिल पनि गरे।