बलराका पूर्व मेयर सिंह कांग्रेस प्रवेश, सभापति गगन थापाले भित्र्याए

बलरा । बलरा नगरपालिकाका पूर्व मेयर अभयकुमार सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेतासमेत रहेका सिंहलाई गएराति कांग्रेस सभापति गगनकुमार थापाले पार्टी प्रवेश गराएका हुन् ।

सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट बलरा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । २०७९ सालको स्थानीय तह निर्वाचनमा भने सिंह राजपाको फुटपछि लोसपाबाट मेयरका प्रत्याशी थिए । तर उनी नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका रामाशंकर कुशवाहासँग पराजित भए ।

गएराति सिंहकै घरमा कांग्रेस सभापति थापासहितका नेताहरू पुगेर पार्टी प्रवेश गराएका हुन् । सिंहसहित बलरा नगरपालिकाका पूर्व वडाध्यक्ष सुशील झालगायतका नेता कार्यकर्ताहरू नेपाली कांग्रेस प्रवेश गरेको बताइएको छ ।

यसअघि सर्लाही ४ नम्बर निर्वाचन क्षेत्र निवासी लोसपाका नेताहरू संविधान सभा सदस्य केदारनन्दन चौधरी, मनिष मिश्रलगायत नेता कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

सम्बन्धित समाचार

सबै