लालबन्दी । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले राजश्व चुहावट मुद्दामा दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही घर भई हाल काठमाडौँको कुलेश्वर बस्ने ३१ वर्षीय प्रवीण कुमार महतो रहेका छन्।
महतो ‘अंकुश सप्लायर्स एण्ड ट्रेडर्स’का प्रोपाइटर हुन्। उनलाई उच्च अदालत पाटनले २०८१ वैशाख १७ गते राजश्व चुहावटको मुद्दामा दोषी ठहर गर्दै ४ करोड ४४ लाख ८७ हजार ९५७ रुपैयाँ जरिवाना र १ वर्ष कैद सजाय सुनाएको थियो।
अदालतको फैसलापछि फरार रहँदै आएका महतोलाई ब्युरोको विशेष टोलीले खोजतलासका क्रममा चैत २७ गते काठमाडौँको कुलेश्वरबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका महतोलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा उपस्थित गराइएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। ब्युरोले फैसला कार्यान्वयनका लागि आफ्नो सक्रियता बढाउँदै फरार अभियुक्तहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्रता दिएको छ।