लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिका–४ हरिवनस्थित भित्री सडक खण्डमा शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा एक बालिकाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार हरिपुरबाट लालबन्दीतर्फ आउँदै गरेको ना ५ त ३११३ नम्बरको ट्याक्टरले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा साइकल चालक लालबन्दी नगरपालिका–९ निवासी करिब ४० वर्षीय सन्तोष भट्टराई घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको र हाल मोडेल अस्पताल लालबन्दीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। चिकित्सकका अनुसार उनको अवस्था मध्यम रहेको छ।
दुर्घटनामा साइकलको पछाडि सवार भट्टराईकै छोरी करिब ६ वर्षीया अन्सु भट्टराईको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक बीरेन्द्र सिंह जोहारीको कमाण्डमा १२ जनाको टोली घटनास्थलमा खटिएको थियो। टोलीले ट्याक्टर र चालक लालबन्दी नगरपालिका–१७ निवासी करिब ५० वर्षीय दुर्गामान थोकरलाई नियन्त्रणमा लिएको छ।
प्रहरीले घटनास्थल मुचुल्का कार्य सम्पन्न गरी मृतक बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको जनाएको छ। दुर्घटनास्थल इलाका प्रहरी कार्यालय लालबन्दीबाट करिब ४ किलोमिटर दक्षिण–पश्चिमतर्फ पर्छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।