साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म खुर्कोट-भकुन्डेबेँसी सडकमा सवारी चलाउन रोक

खुर्कोट । बीपी राजमार्गअन्तर्गत खुर्कोट–भकुण्डेबेँसी सडकखण्डमा आज (मंगलबार) देखि रात्रिकालीन सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले एक सूचना जारी गर्दै साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालन नगर्न निर्देशन दिएको हो ।

हालैको अविरल वर्षाका कारण क्षतिग्रस्त भएको सडकमा रात्रिको समयमा यात्रा गर्दा जोखिम बढ्ने देखिएकाले अर्को सूचना जारी नहुन्जेलका लागि यो प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ ।

८९ जनाको ज्यान जोखिममा परेपछि कडा कदम

जिल्ला प्रशासन कार्यालयका अनुसार, भेल बाढीमा फसेका सवारीसाधन र यात्रुहरूलाई रातिको समयमा उद्धार गर्न अत्यन्त कठिनाइ हुँदा केही समयअघि ८९ जनाको ज्यान जोखिममा परेको थियो । उक्त घटना र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनलाई मध्यनजर गर्दै यो निर्णय लिइएको हो ।

आज वैशाख २२ गते बिहान काभ्रेपलाञ्चोक र सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच भएको टेलिफोन संवाद तथा जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको बैठकले यस्तो निर्णय गरेको सूचनामा उल्लेख छ ।

सडकको अवस्था अझै नाजुक

वर्षाका कारण ठाउँ–ठाउँमा सडक अवरुद्ध भएको र धेरै ठाउँमा डाइभर्सन बनाएर सञ्चालन गरिएको बीपी राजमार्ग हालसम्म पूर्ण रूपमा सुचारु हुन सकेको छैन । साँघुरो र जोखिमपूर्ण बाटोमा रातिको समयमा दुर्घटनाको उच्च सम्भावना हुने भएकाले यात्रुहरूको सुरक्षाका लागि सवारी व्यवस्थापनमा यस्तो निर्णय गरिएको प्रशासनले स्पष्ट पारेको छ ।

प्रशासनले उक्त मार्ग प्रयोग गर्ने यात्रु तथा सवारी चालकहरूलाई तोकिएको समयतालिका पालना गर्न र यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

सम्बन्धित समाचार

सबै