हरिवनमा बसको ठक्करबाट एक पैदल यात्रुको घटनास्थलमै मृत्यु

हरिवन । सर्लाहीको हरिवनमा गएराति भएको सवारी दुर्घटनामा एक पैदल यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्वी पश्चिम लोकमार्ग अन्तर्गत हरिवन नगरपालिका-११ स्थित कडरिया चोकमा राति करिब २३:१५ बजे यो दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय हरिवनका अनुसार गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बाप्र०१-००६ ख ९६७० नम्बरको बसले ठक्कर दिँदा पैदल हिँडिरहेका एक पुरुषको मृत्यु भएको हो । मृतक अन्दाजी ३५ देखि ४० वर्षका रहेको र उनी मागि खाई हिँड्ने व्यक्ति जस्तो देखिएको भए पनि तत्काल उनको नाम, थर र वतन खुल्न नसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्र कान्त अधिकारीको कमाण्डमा १० जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरीले घटनास्थल मुचुल्का लगायतका कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ ।

दुर्घटना गराउने बस र बस चालक उदयपुर त्रियुगा नपा १० बासबारी बस्ने ३५ वर्षीय कृष्ण बहादुर खत्रीलाई भने इलाका प्रहरी कार्यालय कर्मैया, सर्लाहीको नियन्त्रणमा राखिएको छ ।

दुर्घटनास्थल इलाका प्रहरी कार्यालय हरिवनबाट करिब ८०० मिटर उत्तरपूर्वमा पर्छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार

सबै