मलंगवा । निर्माणाधीन घरको छतबाट पानी ट्याङ्की खसेर दुई मजदुरको मृत्यु भएको घटनामा प्रहरीले ठेकेदारलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले मलंगवा नगरपालिका–१० स्थित निर्माणाधीन चारतले पक्की घरका ठेकेदार मलंगवा नगरपालिका–३ निवासी सुनिल साह भन्ने सुलिन्द्र प्रसाद साहलाई नियन्त्रणमा लिएको जनाएको हो ।
प्रहरीका अनुसार रञ्जित यादवको घर निर्माणको जिम्मा लिएका सुलिन्द्र प्रसाद साहकै निगरानीमा काम भइरहेका बेला शुक्रबार साँझ करिब ४ः३० बजे छतमा राखिएको पानी ट्याङ्की जमिनमा खसेको थियो । दुर्घटनामा मिस्त्रीको काम गर्दै आएका मलंगवा–२ निवासी करिब ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका–२ निवासी करिब ४० वर्षीय राजकिशोर यादव गम्भीर घाइते भएका थिए ।
दुवैलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनापछि प्रहरीले ठेकेदार साहलाई कानुनबमोजिम नियन्त्रणमा लिई ज्यान सम्बन्धी कसुर मुद्दामा अनुसन्धान अघि बढाएको जनाएको छ । सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।