सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकाबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागमती नगरपालिका–२, सुकुमवासी टोलका ३८ वर्षीय बुद्धीमान घलान रहेका छन्।
सोमबार बरहथवा नगरपालिका–१२ स्थित लौकट टोलमा केही अपरिचित व्यक्तिहरू हतियारसहित हिँडडुल गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बरहथवा र इलाका प्रहरी कार्यालय हिरापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई घेराउ गरेको थियो। प्रहरीलाई देख्नेबित्तिकै ४ जनाको समूहमा रहेका उनीहरू भाग्न खोजेका थिए। भाग्ने क्रममा प्रहरीले घलानलाई नियन्त्रणमा लिन सफल भए पनि अन्य ३ जना भने फरार भएका छन्।
पक्राउ परेका घलानको साथबाट प्रहरीले १ थान भरुवा बन्दुक, सोही बन्दुकमा प्रयोग हुने फलामको रड १ थान, १७५ ग्राम बारुद, ८० थान फलामको गोली र फलामको रडका ५ टुक्रा बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय बरहथवाका अनुसार पक्राउ परेका घलानविरुद्ध ‘हातहतियार खरखजाना सम्बन्धी कसुर’मा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ।
अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको र फरार रहेका अन्य व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।