भारदह । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१, भारदहमा आज करेन्ट लागेर एक किसानको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ४८ वर्षीय सहदेव लौगी रहेका छन्। आफ्नै केरा बगानमा धानको बीउ राख्नका लागि पानी तान्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विजय कार्कीका अनुसार, खेतमा पानी पठाउनका लागि विद्युतीय मोटर जडान गरी तार जोड्ने क्रममा लौगीलाई करेन्ट लागेको थियो।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय भारदहबाट खटिएको टोलीले घटनास्थलको अनुसन्धान सुरु गरेको छ।