हरिवन । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिको विरोधमा सर्लाहीमा विद्यार्थी संगठनले प्रदर्शन गरेको छ।
नेकपा निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियूले आज सर्लाहीको हरिवनमा प्रधानमन्त्री शाहको तस्बिर जलाएर विरोध प्रदर्शन गरेको हो। विरोध प्रदर्शनका क्रममा विद्यार्थीहरूले राष्ट्रघाती अभिव्यक्तिको विरुद्ध भन्दै मशाल जुलुस समेत निकालेका थिए।
प्रदर्शनका क्रममा नेकपा केन्द्रीय सदस्य आरती लामाले अन्याय, विकृति र राष्ट्रघाती गतिविधिविरुद्ध आवाज उठाउन प्रदर्शन गरिएको बताइन् । उनले भनिन्, ‘आज हामी मशाल बोकेर यहाँ कुनै सिंहदरबार, अदालत, सरकारी कार्यालय वा कुनै व्यापारीको घर जलाउन उभिएका होइनौँ। हामी अन्याय, विकृति र राष्ट्रघाती गतिविधिविरुद्ध आफ्नो आवाज बुलन्द गर्न उभिएका हौँ।’
साथै उनले सत्ताको आडमा राष्ट्रघात गर्नेहरूका विरुद्ध सधैँ आवाज उठ्ने उल्लेख गर्दै आफ्नै सरकारको गलत कदमको विरोध गर्नुपर्दा पनि आफूहरू पछि नहट्ने र निरन्तर खबरदारी गरिरहने स्पष्ट पारिन् ।