घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले छानबिन सुरु गरेको छ भने कुटपिटमा संलग्न प्रहरी जवानलाई इलाका प्रहरी कार्यालय बरहथवामा तानिएको छ।
के थियो घटना?
पीडित फेकु दासका दुई छोराले अध्ययन गरेको साइनिङ स्टार बोर्डिङ स्कुलको १३ हजार रुपैयाँ शुल्क बाँकी रहेको भन्दै विद्यालयका सञ्चालक संजय साहले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा निवेदन दिएका थिए।
सोही निवेदनका सम्बन्धमा सोधपुछका लागि जिल्ला प्रशासन कार्यालयले इलाका प्रहरी कार्यालय हरकठवालाई पत्राचार गरेको थियो।
पीडित दासका अनुसार, बुधवार दिउँसो उनी श्रीमतीसहित प्रहरी कार्यालय पुगेका थिए। त्यहाँ प्रहरीले पत्रमा हस्ताक्षर गर्न भन्यो। तर, विद्यालयको सम्पूर्ण शुल्क तिरिसकेको भन्दै हस्ताक्षर गर्न अस्वीकार गरेपछि प्रहरी जवान रामजीवन पासवानले आफूलाई एउटा कोठामा लगेर बाँसको भाटा र बुटले कुटपिट गरेको आरोप उनले लगाएका छन्। कुटपिटबाट दासको बायाँ हात, तिघ्रा र पिठ्युँमा गम्भीर चोट लागेको छ।
प्रहरीको भनाइ:
इलाका प्रहरी कार्यालय हरकठवाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) पदम खड्काले कार्यालयभित्रको एक कोठामा दास र प्रहरी जवान पासवानबीच विवाद भएको स्वीकार गर्दै सोही क्रममा कुटपिटको घटना भएको बताएका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रबिन्द्रनाथ पौडेलले घटनाबारे जानकारी प्राप्त भएको बताउँदै दासले मादक पदार्थ सेवन गरी प्रहरीमाथि हातपात गर्न खोजेपछि विवाद उत्पन्न भएको प्रारम्भिक जानकारी आएको बताए।
उनले घटनामा संलग्न प्रहरी जवानलाई इलाका प्रहरी कार्यालय बरहथवामा तानिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।
घाइते दासलाई बरहथवास्थित हनुमन्त हस्पिटलमा प्रारम्भिक उपचारपछि काठमाडौंस्थित ट्रमा सेन्टरमा रेफर गरिएको छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग स्थानीयले गरेका छन्।