काठमाडौँ । विशेष अदालतले गलत लिखत तयार गरी भ्रष्टाचार गरेको एक सरकारी कर्मचारी र तत्कालीन गाविस सचिवलाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला सुनाएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र बिदुर कोइरालाको इजलासले गलत लिखत मुद्दामा सर्लाहीको साविक हरिपूर्वा नगरपालिका(साविक हरिपूर्वा गाविस)का तत्कालीन सचिव राम प्रकाश सिंह दनुवार र कार्यालय सहायक अरुण कुमार यादवलाई कैद तथा जरिवाना हुने फैसला सुनाएको हो ।
अदालतले सर्लाहीको साविक हरिपूर्वा नगरपालिका(साविक हरिपूर्वा गाविस)का तत्कालीन सचिव राम प्रकाश सिंह दनुवार र कार्यालय सहायक अरुण कुमार यादवलाई जनही ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको छ । साथै, दुवै प्रतिवादीलाई ‘अपराध पीडित संरक्षण ऐन, २०७५’ बमोजिम पीडित राहत कोषमा जनही ४०० रुपैयाँ जम्मा गर्न समेत आदेश दिइएको छ।
अरुण कुमार यादव हरिपुर्वा नगरपालिका (साविक हरिपुर्वा गाविस) मा २०७३ माघ १ गतेदेखि कार्यालय सहायक चौथो (खरिदार) पदमा करार सेवामा नियुक्त भएका थिए । उनको करार म्याद थप हुँदै २०७८ साल कात्तिकसम्म कायम रहेको देखिएको छ ।
तर, तत्कालीन सचिव राम प्रकाश सिंह दनुवारले यादवलाई करारमा नियुक्त हुनुभन्दा अगाडिको मिति (२०७१ भदौ ३१ गते) उल्लेख गरी स्थायी नियुक्तिको गलत लिखत तयार गरिदिएको अदालतको ठहर छ ।
नगरपालिकाको रेकर्ड अनुसार यादवको कर्मचारी सञ्चय कोषको रकम कट्टी २०७८ मङ्सिर १३ गतेदेखि मात्र हुन थालेको देखिएकाले नियुक्ति पत्र झुटो र बदनियतपूर्ण भएको पुष्टि भएको हो ।