सर्लाहीमा प्रहरीमाथि हातपात : अशोक यादव खोज्दै प्रहरी

कविलासी । सर्लाहीको कविलासी नगरपालिका-८, अगर्वामा सवारी दुर्घटनाको अनुसन्धान गरिरहेको प्रहरी टोलीमाथि हातपात भएको छ।

सोमबार राति करिब ९ बजे भएको घटनामा प्रहरीमाथि आक्रमण गरी घाइते बनाएको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ भने एक जना फरार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमका अनुसार पक्राउ पर्नेमा कविलासी-१० सलेमपुरका १९ वर्षीय बिक्रम कुमार यादव र २१ वर्षीय प्रियांशु यादव रहेका छन्।

उनीहरूलाई जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट अभद्र व्यवहार मुद्दामा आठ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार सोमबार राति ९ बजे नवलपुर-मलंगवा सडकखण्ड अन्तर्गत अगर्वामा पार्किङ गरी राखिएको ना. ६ ख. ७६२३ नम्बरको ट्रकलाई ज. १ त २५५० नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो।

दुर्घटनास्थलमा पुगेर ट्याक्टर नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरी टोलीमाथि ट्याक्टर धनी सलेमपुर बस्ने अशोक कुमार यादव नेतृत्वको समूहले हातपात गरेको र ट्याक्टरसमेत लिएर फरार भएको प्रहरी नायव उपरीक्षक गौतमले जानकारी दिए।

घटनापछि जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय हरिपुरको संयुक्त टोलीले तत्काल कारबाही अगाडि बढाएको थियो। सो क्रममा बिक्रम कुमार यादव र प्रियांशु यादवलाई नियन्त्रणमा लिन सफल भए पनि ट्याक्टर धनी अशोक कुमार यादव भने अझै फरार रहेको र उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रहरीमाथि भएको आक्रमणको घटनाले स्थानीय सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्बन्धित समाचार

सबै