सर्लाहीमा २५ वर्ष कैद सजाय तोकिएका अभियुक्तसहित ३ फरार प्रतिवादी पक्राउ

मलंगवा । सर्लाही प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरी सम्बन्धित निकायमा बुझाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रहरी कारवाहीका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा बरहथवा नगरपालिका – ६ निवासी अरविन्द साह, ईश्वरपुर नगरपालिका – ४ निवासी मनोज गोले र हरिपूर्वा नगरपालिका – ५ निवासी शैली देवी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमका अनुसार अरविन्द कर्तव्य ज्यान मुद्दामा अदालतबाट २५ वर्ष कैद सजाय तोकिएका व्यक्ति हुन्। यस्तै, मनोज केही सार्वजनिक अपराध सम्बन्धी मुद्दामा दोषी ठहर भई २ हजार रुपैयाँ जरिवाना तोकिएका प्रतिवादी हुन्।

त्यसैगरी, शैली देवी नागरिकता सम्बन्धी कसुर मुद्दामा फरार रहेकी थिइन्। उक्त मुद्दा हाल अदालतमा विचाराधीन रहेको बताईएको छ। पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला अदालत सर्लाहीमा दाखिला गरिएको प्रवक्ता गौतमले जानकारी दिए।

सम्बन्धित समाचार

सबै