बागमती । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापासहित ८ जनाविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाई असार १५ गतेका लागि पेसी सरेको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरु डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा सुनुवाइका लागि पेसी तय भएको मुद्दा ‘हेर्न नभ्याइने’ भएपछि पेसी सरेको हो ।
यो मुद्दामा यसअघि ४ पटक साक्षी बुझ्ने आदेश भइसकेको छ भने एक पटक बहस नोट मगाउने आदेश भएको छ । २०८२ जेठ ४ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर थापासहित उपमेयर लिलाकुमार मोक्तान र पूर्वमन्त्री विजयकुमारविरुद्ध जनही ५६ करोड ७१ लाख रुपैयाँ बिगो माग दाबी गरेको थियो ।
त्यस्तै, बिमलकुमार पोखरेल, सागर पौडेल, विश्वराज पोखरेल, निरञ्जन लामिछाने, विजयकुमार, गोकुल भुजेल र लीला कुमारी मुक्तानलाई विपक्षी बनाइएको छ । निलम्बित मेयर थापासहितले माछापोखरी निर्माणका नाममा पोखरीसमेतका गैरकानुनी संरचना निर्माण गरी साबिक वन ऐन, २०४९ तथा प्रचलित वन ऐन, २०७६ बमोजिम कसुर गरेको अभियोग छ ।
आयोगका अनुसार बागमतीको वडा नं. ४ र १२ मा पर्ने सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी ढुङ्गा, गिट्टी, बालुवा र माटो उत्खनन गरेर बनेको खाल्डोमा माछापोखरी निर्माणका नाममा सङ्घ र प्रदेशबाट करोडौँ रकम माग गरी हिनामिना गरेको अभियोग छ ।
मधेस प्रदेश सरकारबाट पटक–पटक माछाविहीन पोखरीका लागि अनुदान लिइएको, निर्माण पूरा नभएको अवस्थामा तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमारले एमओयूमा हस्ताक्षर गरी ३० करोड रुपैयाँ अनुदान दिएको अभियोग पनि लगाइएको छ ।