सर्लाहीमा भैंसी गोठमा सुतिरहेका व्यक्तिको धारिलो हतियार प्रहार गरी हत्या

मलंगवा । सर्लाही जिल्लाको बसबरिया गाउँपालिका–१ मानपुरमा ५२ वर्षीय होशनारायण राय यादवको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। शनिबार मध्यराति भैंसी गोठमा सुतिरहेको अवस्थामा यादवमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीका अनुसार, राति करिब १२ बजे अपरिचित समूहले यादवको घाँटीमा धारिलो हतियार प्रहार गरेको थियो। घटनापछि परिवारका सदस्यले गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ। इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी गोपिकृष्ण सुवेदीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।

मृतकका जेठा छोरा सुवासकुमार यादवले आफ्ना बुवा अत्यन्तै सरल र नरम स्वभावका व्यक्ति रहेको र कसैसँग कुनै किसिमको विवाद नरहेको बताए । हत्याको कारण र यसमा संलग्न व्यक्तिबारे अनुमान गर्न समेत कठिन भइरहेको सुवासले उल्लेख गरे।

प्रहरीले हत्यामा संलग्न व्यक्तिको पहिचान र पक्राउका लागि खोजी कार्य तीव्र पारेको बताएको छ।

सम्बन्धित समाचार

सबै