मलंगवा । सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर १० झिम नदी नजिकबाट अवैध काठसहित एक जना पक्राउ परेका छन् । प्रहरीले गोप्य सूचनाको आधारमा ट्र्याक्टरमा लोड गरी ल्याउँदै गरेको काठसहित ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आज बिहान करिब ५ बजेको समयमा पर्साबाट मलंगवातर्फ आउँदै गरेको ज ६ प ८५३६ नम्बरको ट्र्याक्टरलाई प्रहरीले रोकी जाँच गर्दा ठुलो परिमाणमा अवैध काठ फेला परेको थियो। ट्र्याक्टरमा पिपल र सिमल जातका करिब १५० दशमलव ०५ क्युफिटका ३० वटा काठका गुलिया लोड गरिएका थिए ।
अवैध काठसहित पक्राउ पर्नेमा ब्रह्मपुरी गाउँपालिका वडा नम्बर ३ बस्ने ४३ वर्षीय सुरेन्द्र महतो रहेका छन्। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला वन डिभिजन कार्यालय लालबन्दी बुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको र यसमा संलग्न अन्य व्यक्तिको पनि खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।