लालबन्दी । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले सर्लाहीको ईश्वरपुर नगरपालिकाका प्रमुख एवं महाधिवेशन प्रतिनिधि मनोजकुमार आचार्यलाई स्पष्टीकरण सोधेको छ।
पार्टीका आधिकारिक उम्मेदवारलाई चुनावमा हराउन भूमिका खेलेको आरोपमा उनलाई ५ दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिइएको हो।
नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरबाट जारी पत्रअनुसार, गत २०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनका क्रममा आचार्यले पार्टीविरोधी गतिविधि गरेको उल्लेख छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य क्षेत्र नं १ का उम्मेदवार शम्भुलाल श्रेष्ठले आचार्यविरुद्ध केन्द्रीय अनुशासन समितिमा उजुरी दिएका थिए।
उजुरीमा मेयर आचार्य चुनावी सभा, सम्मेलन तथा पार्टीका आधिकारिक बैठकहरूमा सहभागी नभएको र उल्टै आफ्नै पार्टीका उम्मेदवारलाई पराजय गराउने खेल र गतिविधिमा सक्रिय रूपमा संलग्न रहेको आरोप लगाइएको छ।
केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापामगरद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘नेपाली कांग्रेसको विधानबमोजिमको अनुशासन उल्लंघनको कसुरमा तपाईंलाई सजाय किन नगर्ने ? यदि उक्त कारबाही गर्न नपर्ने कुनै मनासिब आधार र कारण भएमा विधानको धारा ३४ को उपधारा ८ ९घ० बमोजिम ५ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्नुहुन निर्णयअनुसार यो पत्राचार गरिएको छ।’
तोकिएको ५ दिनभित्र उचित र मनासिब कारणसहित स्पष्टीकरण पेश नगरेमा पार्टीको विधानबमोजिम अनुशासन उल्लंघनको कसुरमा कारबाही प्रक्रिया अघि बढाइने व्यहोरासमेत पत्रमा उल्लेख गरिएको छ।
