सर्लाहीमा धारिलो हतियार प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ

मलगंवा । सर्लाहीको बसवरिया गाउँपालिकामा ५३ वर्षीय एक व्यक्तिको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गत असार ७ गते राति आफ्नै घरमा सुतिरहेको अवस्थामा बसवरिया गाउँपालिका वडा नं ०१ मानपुर टोलका ५३ वर्षीय होस नारायण राय यादवमाथि धारिलो हतियार प्रहार भएको थियो। घाँटीको दाहिने भागमा ५ इन्च लामो र २ इन्च चौडा गहिरो चोट लागेका यादवको उपचारका क्रममा नगर अस्पताल बरहथवामा मृत्यु भएको थियो ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय मानपुर, बरहथवा र कुकुर शाखा लालगढ समेतको टोलीले अनुसन्धान सुरु गरेको थियो। सूक्ष्म अनुसन्धानका क्रममा प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा सोही ठाउँका २५ वर्षीय सन्तोष कुमार रायलाई पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा अभियुक्त रायले हत्या गर्नका लागि चोरीको मोटरसाइकल प्रयोग गरेको खुलेको छ। वरामदस्थलबाट करिब ३०० मिटरको दूरीबाट चोरी गरिएको ना ४५ प २६८५ नम्बरको निलो रङको ग्ल्यामर मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका रायमाथि कर्तव्य ज्यान र चोरी मुद्दा दर्ता गरी सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय बरहथवाबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए ।

सम्बन्धित समाचार

सबै