लालबन्दी । मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले सर्लाहीको लालबन्दीस्थित होटलहरूमा आकस्मिक अनुगमन गरेका छन्। गृह जिल्ला समेत रहेको सर्लाहीमा मन्त्री महतोले लालबन्दी बजारका होटलहरूको भान्सामै प्रवेश गरेर अनुगमन सुरु गरेका हुन्। अनुगमन साँझसम्म निरन्तर सञ्चालन गरिएको थियो।
अनुगमनका क्रममा अधिकांश होटलहरूले सेवाग्राहीलाई गुणस्तरहीन खाना खुवाउने गरेको तथा खाना पकाउने भान्सामा सरसफाइप्रति पर्याप्त ध्यान नदिएको पाइएको मन्त्री महतोले बताए। उनका अनुसार केही होटलमा खाद्य सामग्रीको व्यवस्थापन र सरसफाइको अवस्था सन्तोषजनक नरहेको भेटिएको छ।
बजारमा मन्त्री स्वयं उपस्थित भएर अनुगमन गरेपछि स्थानीयवासीले यसको स्वागत गरेका छन्। यद्यपि, केहीले नियमित अनुगमन र प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।
शासापुर–२ का अशोक झाले अनुगमनलाई नौंटकीको संज्ञा दिँदै भने,अनुगमन गर्नु राम्रो कुरा हो, तर यसको कार्यान्वयन कति हुन्छ भन्ने मुख्य विषय हो। समय–समयमा अनुगमनसँगै प्रभावकारी कार्यान्वयन पनि हुनुपर्छ।
त्यस्तै, लालबन्दी–२ का सुनिल पोखरेलले उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्न नहुने बताउँदै होटलहरूले सरसफाइमा ध्यान नदिएको र बेला–बेलामा बासी खाना समेत बिक्री हुने गरेको गुनासो गरे। उनले मन्त्री महतोको पहलको प्रशंसा गर्दै स्थानीय सरकारले समेत यस्ता अनुगमनलाई निरन्तरता दिई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए।
मन्त्री महतोले कुरा गर्दै सर्लाहीमा मात्र नभई मधेस प्रदेशभरिका होटल तथा खाद्य व्यवसायमा अनुगमन अभियान सञ्चालन गरिने जानकारी दिए। साथै, यस समाचारमार्फत प्रदेशभरिका होटल व्यवसायीलाई खाद्य गुणस्तर, सरसफाइ र उपभोक्ताको स्वास्थ्यप्रति जिम्मेवार बन्न सचेतसमेत गराएका छन्।