जलेश्वर कारागारबाट फरार डाका मुद्दाका बन्दी लालबन्दीबाट पक्राउ

मलंगवा । महोत्तरीको जलेश्वर कारागारबाट फरार रहेका डाका मुद्दाका एक बन्दीलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका ३८ वर्षीय विजेन्द्र कुमार पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा पासवानलाई शुक्रबार बिहान करिब ७:३० बजे पक्राउ गरेको हो ।

उनलाई लालबन्दी नगरपालिका वडा नं २, जुटपानीबाट पुनर्वास जाने भित्री सडक खण्डबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका पासवान लालबन्दी नगरपालिका–२, पुनर्वास टोलका बासिन्दा हुन् ।

डाका मुद्दामा जलेश्वर कारागार महोत्तरीमा कैद भुक्तान गरिरहेका पासवान विगतको आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) वेद प्रसाद गौतमका अनुसार पक्राउ परेका पासवानलाई थप अनुसन्धान तथा कारबाहीका लागि हाल इलाका प्रहरी कार्यालय लालबन्दीमा राखिएको छ।

सम्बन्धित समाचार

सबै